प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०७।०२ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको भन्ने प्रतिवादी लेखा पनेरु महत भएको मुद्दामा घुस बापतको रकम राखिदिने भावना महतलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएकोमा निजले विशेष अदालत, काठमाडौं समक्ष वकपत्र गर्दा प्रतिकूल हुने गरी बकपत्र गरेकोले निज भावना महतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसूरमा मतियार भएको हुँदा निजउपर रु.१,५०,०००।– (एक लाख पचास हजार मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा ऐ.ऐनको दफा २२ बमोजिम राष्ट्रसेवकलाई हुने सजायको आधा सजाय हुन, 
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।१२ को फैसलाबाट सफाई दिएको-: 
• भावना महतले मालपोत अधिकृत लेखा पनेरु महतले रातो फाइवरको झोला भित्र रहेको सामान राख्नु भनेर आफूलाई दिएको र निजले सो झोला पुन लिएकी हुन् भनी व्यहोरा लेखाएको, तर अदालतमा बकपत्र गर्दा कुरा फेरी उक्त रातो झोला मेदो शेर्पाले आफूलाई राख्न दिएकोमा सोही बखत लेखा पनेरुलाई दिएको भनी लेखाएकोले झोला कसले राख्न दिएको भन्ने सम्म व्यहोरा फरक देखिए पनि कसले लिएको भन्ने तर्फ लेखा पनेरुले सो झोला लिएको देखिंदा झोला दिने व्यक्ति जो कोही भएपनि लेखा पनेरु महत नै झोला लिने व्यक्ति भएकोमा कुनै विवाद नदेखिएको। 
• घुस बापत लिएको बरामदित रकमसमेत निज प्रतिवादीबाट बरामद भएको नदेखिंदा प्रतिवादी भावना महतले घुस/रिसवत लिनमा सहयोगीको भूमिका खेलेको भन्ने देखिन नआएको, यस स्थितिमा निज प्रतिवादी भावना महतले आरोपदावी बमोजिम कसूर गरेको भन्ने अभियोग मागदावी प्रमाणबाट पुष्टि हुन नआएको।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०७।०२ मा पुनरावेदन गरिएको छः-
देहाय:
• प्रतिवादी भावना महतले मुख्य प्रतिवादी लेखा पनेरु महतको लागि घुस/रिसवत वापतको रकम भएको झोला केहिछिन राखिदिएर फेरी प्रतिवादी लेखा पनेरुलाई नै फिर्ता दिएको व्यहोरा मिशिल संलग्न खानतलासी/बरामदी मुचुल्काबाट देखिएको।निवेदकले पेश गरेको अडियो/भिडियोको रेकर्ड, सम्वाद उतार गरिएको स्क्रिप्ट राईटिङ अध्ययन गरी हेर्दा स्क्रिप्ट राईटिङमा निज लेखा पनेरु महत र भावना महत उजुरवालासँगै रहेको, लेखा पनेरु महतले भावना महतको सामुन्नेमै डेडलाख रुपैंयाको संकेत गरी भावना ल्याउनु भनेको, भावनालाई सँगै राखेको, यो मेरो बहिनी हो भनी चिनाएकोसमेत उल्लेख भएको देखिंदा देखिंदै उक्त मिशिल संलग्न तथ्य, प्रमाण र आधारहरुलाई अनदेखागरी निज प्रतिवादीलाई पूरक आरोप पत्रमा उल्लेखित आरोप मागदावी बमोजिम सजाय हुनु पर्नेमा सो नगरी कसूरबाट सफाई दिने ठहरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदरभागी रहेको। 
• प्रतिवादी भावना महतले मौकाको बयान गर्दा बरामद भएको रकम प्रतिवादी लेखा पनेरु महतले मिति २०७९।०१।११ गते मलाई राख्न दिएको झोला मैले पसलमा राखेको र सोही झोला पुन: निज लेखा पनेरु महतले लिएर आएकी हुन् भन्ने समेत व्यहोरा उल्लेख गरी रकम राखिदिएको तथ्य उल्लेख गरेको। अदालतमा बकपत्र गर्दा मैले मौकामा गरेको बयान व्यहोरा मेरो होइन, कसरी लेखियो मलाई थाहा भएन, म व्यवसाय गर्ने मानिस मेरो पसलमा मानिसहरु सामान खरिद गर्नको लागि आई रहनुहुन्छ, मिति २०७९।०१।११ गते मेदो शेर्पाले म केहिछिन पछि आउँछु मेरो सामान एकछिन राखिदिनु भनी एउटा झोला राख्न दिनु भयो, तत् पश्चात निज मेदो शेर्पा प्रतिवादी लेखा पनेरु समेत पसलमा आई राख्न दिएको झोला मागी सो झोला निज मेदो शेर्पाले लेखा पनेरुलाई दिएकी र केहि समय पश्चात प्रहरी समेत आई मेरो पसल बाहिर कागजात तयार भएको हो, कागजमा मलाई सही गर्न लगाएकाले मैले सही गरेकी हुँ, मलाई अख्तियारमा बयान लिए पश्चात पढी सुनाउनु भएको होइन, के व्यहोरा लेख्नु भएको थियो मलाई थाहा भएन, आज अदालतमा गरेको बकपत्रमा लेखिएको व्यहोरा नै मेरो व्यहोरा हो, मलाई झोला मेदो शेर्पाले राख्न दिनु भएको हो, मालपोत अधिकृत लेखा पनेरुले दिनु भएको होइन समेत भनेकोले मौकाको व्यहोरा तथा तथ्य समेत विपरीत हुनेगरी अदालत समक्ष बकपत्र गरिदिएको व्यहोरा मिशिल संलग्न बकपत्रको प्रमाणित प्रतिलिपीबाट स्पष्ट देखिएकोले निजलाई अनुसन्धानको क्रममा सहयोग गरेबापतको दिइएको सजाय मागदावीमा पूर्ण छुट निश्प्रभावी देखिई निजको उक्त कार्य मुख्य कसूरदारको सहयोगीको भूमिका रहेको स्पष्ट देखिएकोले आरोपित कसूरबाट सफाई दिने ठहरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले बदरभागी रहेको।
 
 प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/18
प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01