प्रतिवादीहरु दुलारचन प्रसाद कुर्मी र राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
-------------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:-
• प्रतिवादी दुलारचन प्रसाद कुर्मीले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवत वापत दिएको रकम रु.३¸००¸०००।- र नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिइ नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको रकम रु.२¸१९¸०३०।- समेत गरी विगो रु. ५¸१९¸०३०।- (पाँच लाख उन्नाइस हजार तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र  दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजायँ गरी घुस रिसवत दिएको रकम विगो रु.३,००,०००। ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी गरेको विगो रू.२¸१९¸०३०।– (दुई लाख उन्नाईस हजार तिस) जरिवाना र ऐ. दफा १७ बमोजिम असूलउपर हुन;
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर दुलारचन प्रसाद कुर्मीबाट दस्तुरको बहानामा गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु.३¸००¸०००।- र आफैंले नक्कली तथा गलत कागजातहरुका आधारमा विद्यालयमा कामकाजमा लगाएका तथा सिफारिस गरेका दुलारचन प्रसाद कुर्मीलाई तलव भत्ता वापत भुक्तानी दिलाई आफ्नो पदको दुरुपयोग गरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको रकम रु.२¸१९¸०३०।- समेत गरी बिगो रु.५¸१९¸०३०।- (पाँच लाख उन्नाइस हजार तिस) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम रू.३,००¸०००।- ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी पुगेको विगो रू. २,१९,०३०।– (दुई लाख उन्नाईस हजार तिस ) ऐ. ऐनको दफा १७ बमोजिम असुलउपर हुन; र
• प्रतिवादी महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसूर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख बमोजिम रु.२¸१९¸०३०।- (दुई लाख उन्नाइस हजार तीस) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन 
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारहरू लिई उक्त आरोपमा आंशिक कसूर ठहर भएकोः-
• प्रतिवादी दुलारचन प्रसाद कुर्मीले घुस/रिसवत वापत रु.३,००,०००।- दिएको देखिएता पनि अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई दिएको भनी लेखाएको रु. १७,०००।- लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो। 
• अर्का प्रतिवादी महेश यादवले कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन शिक्षा अधिकृत (विद्यालय निरीक्षक) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको भन्ने आरोप रहेकोमा यस मुद्दामा प्रसंग उठाईएको दुवै विद्यालयसँग निज सम्वन्धित भएको देखिंदैन। प्रतिवादी दुलारचन प्रसाद कुर्मी स्वयंको अनुसन्धान अधिकारी तथा यस अदालत समक्षको बयानबाट पनि निजको संलग्नता खुल्दैन। निजको संलग्नता पुष्टि हुने अन्य मनासिव कारण र आधार समेत मिसिलबाट देखिन आउँदैन। तसर्थ ईन्कारी बयान गर्ने राजेश्वरप्रसाद चौरसियाको अनुसन्धान अधिकारी समक्षको बयान मात्रको आधारमा यी प्रतिवादीको संलग्नता भएको भन्न नमिल्ने ।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छः-
 
देहाय:
क) प्रतिवादी दुलारचन प्रसाद कुर्मीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा मैले शिक्षक नियुक्तिको लागि आवेदन नदिएको¸ छनौट परीक्षामा सहभागी समेत नभइ विद्यालयको नियुक्तिपत्र¸ जिल्ला शिक्षा कार्यालय पर्साको अभिलेख कायम गरी दरवन्दि सहित श्री ने.रा.प्रा.वि. पिडारीगुठी पर्सामा सरुवा भएको पत्र एवं रमानापत्र समेतका कागजातहरु जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरका शिक्षा अधिकृत वि.नि. राजेश्वर प्रसाद चौरसियाले विभिन्न दस्तुरहरुको बहानामा रु.३¸००¸०००।- लिएर उपलव्ध गराएका हुन् भनी खुलाईदिएबाट कुनैपनि परीक्षाहरु नदिइ दस्तुरको बहानामा रु.३¸००¸०००।- जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियालाई घुस रिसवत दिएर निजबाट गलत तथा नक्कली कागजातहरु प्राप्त गरी सोही गलत तथा नक्कली पत्रहरुले श्री ने.रा.प्रा.वि. पिडारीगुठी पर्सामा राहत शिक्षकको पदमा कार्यरत रहेको भनी बयान गरेको देखिएबाट प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र दुलारचन प्रसाद कुर्मीले घुस/रिसवत लिएको/दिएको रकम रु.३,००,०००।-(तीन लाख) कायम गरी सजाय गर्नु पर्नेमा फैसला गर्दा समेत अनुसन्धान अधिकारी समक्षको बयानमा प्रतिवादी राजेश्वर प्रसाद चौरासिया स्वयमंले प्रिवादी दुलारचन प्रसाद कुर्मीले दिएको भनी लेखाएको रु.१७,००० । लाई नै रिसवतको बिगो कायम गर्न न्यायोचित हुने देखियो भनी फैसला त्रुटीपूर्ण रहेको। 
ख) अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा प्रतिवादीहरु दुलारचन प्रसाद कुर्मी र राजेश्वर प्रसाद चौरसियाले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले घुस/रिसवत नलिएको/नदिएको कुनै प्रमाण पेश गर्न नसकेको देखिंदा प्रतिवादीहरु दुलारचन प्रसाद कुर्मी र राजेश्वर प्रसाद चौरसियालाई घूस/रिसवत लिए/दिएको तर्फको आरोपपत्र मागदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धान अधिकारी समक्ष वयान गर्दा दुलारचन प्रसाद कुर्मी लगायतका व्यक्ति र कागजातहरु समेत लिइ आउने र आफुलाई सहयोग वापत रकम उपलव्ध गराउने व्यक्ति श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढ्वा विर्ता पर्साका भु.पु.प्रधानाध्यापक महेश यादव हुन् भनी खुलाईदिएको। मुख्य आरोपी राजेश्वर प्रसाद चौरसियाले सनाखत समेत गरिदिइ आफुलाई सहयोग गर्ने व्यक्ति भनी खुलाईदिए अनुसार निज महेश यादवले विभिन्न व्यक्तिहरु लिइ गइ राजेश्वर प्रसाद चौरसियाबाट नक्कली तथा गलत कागजातहरु उपलव्ध गराउनमा सघाउ पुर्‍याउने कार्य गरी सोही नक्कली तथा गलत कागजातहरुका आधारमा आफु अनुकुलका व्यक्तिहरुले समेत तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी निकासा पठाउन तलव भत्ता निकासा सिफारिस गरी गराई निज राजेश्वर प्रसाद चौरसियालाई गैर कानूनी लाभ उपलव्ध गराउने काम गरेको खुल्न आएकोले राष्ट्रसेवक कर्मचारीसंगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरुका आधारमा विभिन्न व्यक्तिहरुलाई शिक्षकको रुपमा तलव भत्ता समेत भुक्तानी दिलाउन एवं गैरकानूनी लाभ प्राप्त गर्न प्रतिवादी महेश प्रसाद यादवले जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाको निजले सहयोगी मतियारको भूमिका निर्वाह गरेको पुष्टी भै रहेको अवस्थामा प्रतिवादी महेश प्रसाद यादवलाई सफाई दिने गरी भएको फैसला त्रुटीपुर्ण रहेको।
(नोटः थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18