लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ई.सरोज भट्टराईसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।२७ गते।
------------------------------------------
लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ई.सरोज भट्टराईले निजको आमा जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर गुण्डु वडा नं.३ स्थित कि.नं. १३७४, क्षेत्रफल २-९-०-१ र कि.नं.१३७५, क्षेत्रफल ०-२-१-० को जग्गा खरिद गर्दा लुम्बिनी विकास कोषमा कार्य गरिरहेका निर्माण कम्पनीहरुबाट बीचका अन्य व्यक्ति प्रयोग गरी जग्गा बिक्रेतालाई रकम भुक्तानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लुम्बिनी विकास कोषबाट बोलपत्र आह्वान भई बाबुल निर्माण सेवाले एकल तथा जे.भी.मा बोलपत्र प्रस्ताव गरी ठेक्का सम्झौता गरेका आ.व. २०७५।०७६ भन्दा पछि पाँच करोड वा सो भन्दा बढी सम्झौता रकमका ठेक्कामा जम्मा सम्झौता रकम रु.१,३७,२५,९७,६०३।५४ एवं आ.व. २०७५।०७६ भन्दा अघिका ठेक्कामा जम्मा सम्झौता रकम रु.९९,२५,०२,०४४।४२ ठेक्काहरुमा निज सरोज भट्टराईले मूल्याङ्कन समितिको संयोजक, सदस्य एवं योजना प्रमुख समेत रही बाबुल निर्माण सेवालाई एकल तथा जे.भी.मा ठेक्का सम्झौता गर्न सहजीकरण तथा ठेक्का मिलाई दिएवापत बाबुल निर्माण सेवाका प्रोप्राइटरसँग घुस/रिसवतवापतको रकम पठाउन भनी बैंक खाता नम्बरहरु उपलब्ध गराएकोमा बाबुल निर्माण सेवाको प्रोप्राइटरले रु.८०,००,०००।–(असी लाख रुपैयाँ) घुस/रिसवत वापत जम्मा गरे/गराएको एवं बाबुल निर्माण सेवाको प्रोप्राइटरले Power of attorney पाई निजको एकल दस्तखतबाट संचालित अर्घाखाँची-बाबुल जे.भी.को खाताबाट बिभिन्न बैंक खातामा रु.१,०५,००,०००।–(एक करोड पाँच लाख रुपैयाँ) घुस/रिसवत वापतको रकम लिई तथा निज सरोज भट्टराईले उक्त रकमबाट जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स. वडा नं.३ हालको सुर्यविनायक न.पा. वडा नं. ७ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० का जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको देखिएबाट उक्त घुस/रिसवत लिई लिन लगाई भ्रष्टाचारजन्य कसुर गरी आर्जन गरेको रु.१,८५,००,०००।–सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले जग्गामा लगानी गरी/गराई सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी/गराई सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको हुँदा उक्त कसुरमा संलग्न प्रतिवादीहरू उपर देहाय बमोजिम हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको।
देहाय:
क) घुस रिसवत लिई लिन लगाई भ्रष्टाचार गरेको सम्बन्धमा:
१. लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले निर्माण ठेक्काहरुमा मूल्याङ्कन समितिको संयोजक, सदस्य एवं योजना प्रमुख समेत रही बाबुल निर्माण सेवालाई एकल तथा जे.भी.मा ठेक्का सम्झौता गर्न सहजीकरण तथा ठेक्का मिलाई दिएवापत बाबुल निर्माण सेवाका प्रोप्राइटरलाई घुस/रिसवतवापतको रकम पठाउन भनी लुम्बिनी विकास कोष भित्रै रहेको RANGRIG YESHE Inc. मा काम गर्ने व्यक्तिको खाता नम्बरहरु उपलब्ध गराएकोमा बाबुल निर्माण सेवाको प्रोप्राइटरले Power of attorney पाई निजको एकल दस्तखतबाट संचालित खानी अर्घाखाँची-बाबुल जे.भी., लुम्बिनी अर्घाखाँची बाबुल जे.भी.र अर्घाखाँची बाबुल जे.भी. को खाताबाट बिभिन्न खाताहरुमा रकम जम्मा भएको समेत गरी रु.१०५,००,०००।- घुस रिसवत लिए लिन लगाएको पुष्टि भएको हुँदा निज सरोज भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,०५,००,०००।-(एक करोड पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिबाना गरी सोही ऐनको दफा ३ को उपदफा (१) तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम घुस/रिसवत वापत भ्रष्टाचार गरी आर्जन गरेको निज सरोज भट्टराईको आमा प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा रहेको जिल्ला भक्तपुर, गुण्डु वडा नं.३ स्थित कि.नं.१३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० विवरण भएको जग्गा जफत हुन मागदावी लिइएको छ।
२. प्रतिवादी जनक नन्दनी भट्टराईले मुख्य कसुरदार निजको छोरा सरोज भट्टराईसँगको मिलेमतो तथा योजनामा रु.१,०५,००,०००।–(एक करोड पाँच लाख) घुस/रिसवत रकम प्राप्त गरी/गराई जिल्ला भक्तपुर, गुण्डु वडा नं.३ स्थित कि.नं.१३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० विवरणको जग्गा आफ्नो नाममा खरिद गरी लाभ प्राप्तसमेत गर्ने प्रकृतिको मतियार भई निज जनक नन्दनी भट्टराईले मुख्य कसुरदार सरोज भट्टराईले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ वमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज जनक नन्दनी भट्टराईलाई मुख्य कसुरदार सरोज भट्टराईलाई विगो रु.१,०५,००,०००।–(एक करोड पाँच लाख रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्क वाक्याँश वमोजिम जनक नन्दनी भट्टराईलाई सजाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम निजको नाममा रहेको जिल्ला भक्तपुर साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० विवरण भएको जग्गा जफत हुन मागदाबी लिइएको छ।
 
ख) प्रतिवादीले घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसूर सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धीसमेत कसूर गरेको सम्बन्धमा :
घुस रिसवत लिर्इ भ्रष्टाचार गरे गराएको सम्बद्ध कसूरको अनुसन्धान गर्दै जादा उक्त कसूरको अलवा प्रस्तुत मुद्दामा प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ मा परिभाषित एवं निषेधित कसूरजन्य वारदात कार्य समेत भए गरेको अनुसन्धानका क्रममा संकलित सवूद प्रमाण एवं कागजातबाट देखिन्छ।सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरलाई हेर्दा प्रतिवादी सरोज भट्टराईले लुम्बिनी विकास कोषमा निर्माण सम्बन्धी कार्य गरिरहेका निर्माण कम्पनीहरुबाट घुस रिसवत वापतको कूल रकम रु.१,८५,००,०००।- निर्माण कम्पनीहरुका खाताबाट प्राप्त गरी कसूरबाट प्राप्त सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुमा प्रवेश गराउने कार्य गैरकानूनी सम्पत्तिको प्राप्तिको चरण (Placement) भएकोले सम्बद्ध कसूरबाट प्राप्त सम्पत्तिको शुद्धीकरण गर्ने क्रममा कसूरबाट प्राप्त सम्पत्तिको स्रोत लुकाउने, छिपाउने प्रयोजनार्थ कारोबारमा थप जटिलता सिर्जना गर्ने मनसायले उक्त सम्पत्तिलाई बहुतहमा कारोबार गर्ने गराउने कार्य गरी सम्पत्तिको तहीकरण गरेको, बहु तहको कारोबारबाट सम्पत्तिको स्रोत तथा कारोबारमा जटिलता सृजना गरिसकेपछि कसूरबाट प्राप्त सम्पत्ति र गैरकानूनी स्रोत (Illicit Origin) को सम्बन्ध अन्त्य भएको विश्वास गरी/गराई निजि लाभका लागि कसूरबाट प्राप्त सम्पत्तिको प्रयोग गरी प्रतिवादी सरोज भट्टराईले निजको आमा प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स. वडा नं.३ हालको सुर्यविनायक न.पा. वडा नं. ७ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० का जग्गासमेत खरिद गरी गराई घुस रिसवत लिई लिन लगाई भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति जग्गामा रुपान्तरण हस्तारण गरेको र निजि लाभका लागि कसूरबाट प्राप्त सम्पत्तिको प्रयोग गरी प्रतिवादी सरोज भट्टराईले निजको आमा प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर, साबिक गुण्डु गा.वि.स. वडा नं.३ हालको सुर्यविनायक न.पा. वडा नं. ७ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० का जग्गा खरिद गरेको मिसिल संलग्न कागजातबाट पुष्टि भएको हुँदा निजले घुस/रिसवत वापतको रकमबाट जग्गा खरिद गरी सम्पत्तिको एकीकरण गरेको पुष्टि भएकोले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा २९ मा भएको व्यवस्थासमेत बमोजिम सम्पत्ति शुद्धीकरण सम्बन्धी कुसरमा जम्मा बिगो रु.१,८५,००,०००।–(एक करोड पचासी लाख रुपैयाँ) कायम गरी उल्लिखित सम्बद्ध भ्रष्टाचार कसुर (Predicate Offence) को दावीसँगै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको कसुर तथा सजाय मागदावीसँगै बिगो असुल उपरको थप मागदावी समेत लिइएको छ।
 
१. प्रतिवादी सरोज भट्टराईले लुम्बिनी विकास कोषबाट बोलपत्र आह्वान भई बाबुल निर्माण सेवाले एकल तथा जे.भी.मा बोलपत्र प्रस्ताव गरी ठेक्का सम्झौता गरेका ठेक्काहरुमा बाबुल निर्माण सेवालाई एकल तथा जे.भी.मा ठेक्का सम्झौता गर्न सहजीकरण तथा ठेक्का मिलाई दिएवापत बाबुल निर्माण सेवाका प्रोप्राइटरसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) विपरीतको कसुरजन्य कार्य घुस/रिसवत माग गरी उक्त घुस/रिसवतको उत्पत्तिको गैरकानूनी स्रोत (Illicit origin) बाट अलग देखाउनका लागि बाबुल निर्माण सेवाको खाताबाट जग्गा बिक्रेताको खाता नं.मा रकमान्तर गरी तथा असम्बन्धित व्यक्तिहरुको खातामा रकम पठाउन लगाई तहगत संरचना खडा गरी प्राप्त गरेको रकम मध्ये रु.१,६१,३२,१९४।– निज सरोज भट्टराईले आमा प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० का जग्गा मिति २०७९।०१।२७ मा खरिद गरी जग्गा बिक्रेतालाई भुक्तानी गर्न लगाएको र अन्य बाँकी रकम जग्गा खरिद गर्दा राजश्व लगायतमा खर्च गरेको पाइएकोले निज प्रतिवादी सरोज भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य घुस/रिसवतबापत प्राप्त गरेको रकमको स्रोत लुकाउने कलुषित मनसाय राखी उक्त कसुरजन्य कार्यको सजाय छल्न सकिन्छ भन्ने मनसायका साथ त्यसरी प्राप्त गरेको सम्पत्तिको प्राप्तिको स्रोत तथा अधिकार बदल्न, स्वामित्व र स्वरुप परिवर्तन गर्न निज सरोज भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको पुष्टी भएको देखिँदा निज सरोज भट्टराईको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) ले परिभाषित कसुर भएको हुँदा निजलाई बिगो रु.१,८५,००,०००।–(एक करोड पचासी लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय गरी पाउनका साथै सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा रहेको उल्लेखित जग्गा समेत जफत गरी पाउन मागदाबी लिइएको छ।
 
२. प्रतिवादी जनक नन्दनी भट्टराईसमेतको मिलेमतोमा  घुस/रिसवत प्राप्त रकममध्ये रु.१,६१,३२,१९४।–बाट निजको नाममा जिल्ला भक्तपुर साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २-९-०-१ र ०-२-१-० का जग्गा खरिद गरी जग्गा बिक्रेतालाई भुक्तानी गर्न लगाएको र अन्य बाँकी रकम जग्गा खरिद गर्दा राजश्व लगायतमा खर्च गरेको पाइएकोले निज जनक नन्दनी भट्टराईले प्रतिवादी सरोज भट्टराईसँगको मिलेमतो तथा मतसल्लाहमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरजन्य कार्य घुस/रिसवतबापत प्राप्त गरेको रकमको स्रोत लुकाउने कलुषित मनसाय राखी उक्त कसुरजन्य कार्यको सजाय छल्न सकिन्छ भन्ने मनसायका साथ त्यसरी प्राप्त गरेको सम्पत्तिको प्राप्तिको स्रोत तथा अधिकार बदल्न, स्वामित्व र स्वरुप परिवर्तन गर्न प्रतिवादी जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको स-प्रमाण पुष्टी भएको देखिँदा निज प्रतिवादी जनक नन्दनी भट्टराईले मुख्य कसुरदार निजको छोरा प्रतिवादी सरोज भट्टराईले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४  को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) को परिभाषित कसुरको मतसल्लाह तथा मतियार भई प्रतिवादी जनक नन्दनी भट्टराईले सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम तथा दफा ३ को उपदफा (३) परिभाषित कसुर भएको हुँदा निज प्रतिवादी जनक नन्दनी भट्टराईलाई बिगो रु.१,८५,००,०००।–(एक करोड पचासी लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३० को उपदफा (२) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन, साथै सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम निजको नाममा रहेको उल्लेखित जग्गा समेत जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 
 
साथै, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ मा गरेको संशोधन बमोजिम सम्बद्ध कसुर (Predicate offence) सँग सम्बन्धित सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भई प्रतिवादी सरोज भट्टराई र निजको आमा जनक नन्दनी भट्टराई उपर दर्ता गरिएको आरोपपत्र यस आयोगबाट दायर भएको यस प्रकृतिको पहिलो आरोपत्र रहेको छ।
 
(नोट: यस आरोपपत्रको बिगो रकम नगद तथा बैंक खाताहरुमा लेनदेन भएको बिवरण हेर्न डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download