प्रतिवादीहरु दिल बहादुर श्रेष्ठ, दिनेश अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२६ गते ।
-------------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:-
प्रतिवादीहरु कृषि उपज बजार पाँचखालका सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठ र  कोषाध्यक्ष दिनेश अधिकारीले समितिको खातामा रहेको रकम मध्ये रु.१४,३८,५००।- चेकमा सही गरी निकाली हिनामिना गरेको पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असुल उपर हुन,
प्रतिवादी कृषि उपज बजारको आर्थिक बर्ष ०६९/०७० देखी ०७४/०७५ सम्मको अडिट प्रतिवेदन एच.के. अधिकारी एण्ड एसोसियट्सका संचालक केशव अधिकारीले खर्चका बिल भरपाई वेगर कृषि उपज बजार संचालक समिति पाँचखालको लेखापरीक्षण गरी गलत प्रतिबेदन दिएको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०/०९/०८ को फैसलाबाट सफाई दिएको-: 
कृषि उपज बजार सञ्चालक समिति, पाँचखाल काभ्रेको खातामा जम्मा भएको रकम प्रतिवादी दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीले झिकी मासेको नदेखिएको, स्टल भाडा वापत प्राप्त भएको रकम र उक्त रकम झिकी स्टल निर्माण गर्दा लागेको खर्च तिरो भारो भएको भन्ने देखिएको, खातामा भएको रकम बदनियदत लिई झिकेको भन्ने नदेखिएको, सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको वस्तुनिष्ठ प्रमाणबाट पुष्टि भएको नदेखिएकोले निज प्रतिवादी दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको भन्ने आरोप दाबी पुष्टि हुन आएको नदेखिएको, यसैगरी प्रतिवादी केशव अधिकारीले कृषि उपज बजार सञ्चालक समिति, पाँचखाल काभ्रेको अडिट गर्दा कुनै बदनियत लिई अडिट प्रतिवेदन तयार गरेको भन्ने नदेखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको दाबी पुग्न सक्ने नदेखिएको, दाबीको सटरहरु निजी स्रोत साधनले निर्माण भएको देखिएको, सटर भाडाबाट उठेको रकमको विषयमा सम्झौता मौन रहेको अवस्थामा प्रतिवादी दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीले सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको पुष्टि हुन नसकेको र सोही समितिको आय व्यय प्रतिवादी केशव भन्ने हरिकेशव अधिकारीले लेखापरीक्षण गरेको देखिँदा निज उपरको आरोप दावी पुष्टि हुन नसकेकोले सबै प्रतिवादीहरु दिलबहादुर श्रेष्ठ, दिनेश अधिकारी र केशव भन्ने हरिकेशव अधिकारीले आरोपित कसुरबाट सफाई पाउने।
 
लगायतका आधारमा प्रतिवादीहरुले आरोपीत कसुरबाट सफाई पाउने भनी सफाई दिएकोमा आयोगबाट देहायका आधारहरु लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२६ मा पुनरावेदन गरिएको छ।
देहाय:
क) प्रस्तुत मुद्दाका सम्बन्धमा प्रतिवादीहरु दिलबहादुर श्रेष्ठ र दिनेश अधिकारीले जिल्ला कृषि विकास कार्यालय, काभ्रे र कृषि उपज बजारको सञ्चालक समितिबीच कृषि बजार सञ्चालनार्थ मिति २०७०।०४।२० मा भएको सम्झौतामा उल्लेखित शर्त विपरीत तथा “कृषि उपज बजार स्थलको व्यवस्था तथा संचालन विधि,२०५३ (संसोधन सहित)”  तथा तत्कालीन समयमा प्रचलित “कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका, २०७३ को दफा २(च), दफा ४, दफा ७, दफा १५, दफा १९ र दफा ३६ समेतमा उल्लिखित परिभाषा, समितिको काम, कर्तव्य र अधिकार, सदस्यहरुको पदावधी,नवीकरण सम्बन्धी व्यवस्था, आर्थिक प्रशासन र बजारको स्वामित्व सम्बन्धी रहेका प्रावधान विपरीतको काम निज प्रतिवादीहरुबाट भए गरेको स्पष्ट देखिएको, मसला बाली विकास केन्द्रको जग्गामा अस्थाई स्टलहरु निर्माण गर्नका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालयको पत्र अनुसार कृषि उपज बजार सञ्चालक समिति, पाँचखाल काभ्रेलाई तरकारी बजार क्षेत्र भित्रको जग्गामा आफ्नै स्रोत साधनबाट बजार स्टल निर्माण गर्न सहमति दिएकोमा निजहरुले कृषि उपज बजार सम्बन्धी काम नगरी आफूखुशी स्टल, टहरा तथा सटरहरु निर्माण गरेर भाडामा लगाई रकम उठाई सार्वजनिक कोषको रकम हिनामिना तथा हानिनोक्सानी गरेको देखिंदा देखिंदै निजहरुको बदनियतपूर्ण कार्यबाट सार्वजनिक कोषको रकम हिनामिना तथा हानिनोक्सानी भएको मिशिल संलग्न तथ्य र प्रमाण समेतलाई अनदेखागरी निजहरुलाई आरोपित कसुरबाट सफाई दिने फैसला त्रुटिपूर्ण रहेको।
ख) प्रतिवादीहरुले मसला बाली विकास केन्द्रको जग्गामा अस्थाई स्टलहरु निर्माण गर्नका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालयको पत्र बमोजिम कृषि उपज बजार सञ्चालक समिति, पाँचखाल काभ्रेलाई स्टल निर्माण सम्बन्धमा तरकारी बजार क्षेत्र भित्रको जग्गामा आफ्नै स्रोत साधनबाट बजार स्टल निर्माण गर्ने गरी सहमति दिएकोमा निज प्रतिवादीहरुले कृषि उपज बजार समिति, पाँचखालको गठन तथा सञ्चालनको उदेश्य र शर्त बन्देज विपरीत हुने गरी कलुषित मनसायका साथ कृषि उपज बजार सञ्चालन गर्ने समितिको कोषमा रकम जम्मा गर्दा गराउँदा र खर्च गर्दा समेत तोकिएका निर्देशिकाको व्यवस्था तथा कार्यविधिहरुको उल्लंघन गरेर व्यक्तिगत सम्पत्ति जस्तो गरी बदनियतपूर्वक सार्वजनिक कोषको रकम खर्च गरी हिनामिना तथा हानिनोक्सानी गरे/गराएको कार्यबाट उक्त आरोपपत्रमा उल्लेखित बिगो बमोजिमको रकम बराबरको हानीनोक्सानी भएको मिशिल संलग्न तथ्य, प्रमाण र आधारहरुलाई अनदेखागरी निज प्रतिवादीहरुलाई आरोप पत्रमा उल्लेखित आरोप मागदावी बमोजिम सजाय हुनु पर्नेमा निज प्रतिवादीहरुलाई आरोपित कसुरबाट सफाई दिने फैसला प्रमाण विवेचनाको रोहमा त्रुटिपूर्ण रहेको। 
ग) कृषि उपज बजार सञ्चालक समिति, पाँचखाल काभ्रेलाई स्टल निर्माण सम्बन्धमा तरकारी बजार क्षेत्र भित्रको जग्गामा समितिले आफ्नै स्रोत साधनबाट स्टल निर्माण गर्ने गरी दिएको सहमति विपरीत आफूखुशी व्यक्तिगत लगानी लगाई तथा अग्रिम भाडासमेत उठाई व्यक्तिगत सम्पत्ति जस्तो गरी उक्त सार्वजनिक रुपमा सञ्चालन हुने गरी गठित तथा सञ्चालित  कृषि उपज बजारको स्थापना र सञ्चालनको कार्यविधि, उदेश्य र शर्त-सम्झौता विपरीतको कसुरजन्य कार्य गरेको कारणबाट कृषि उपज बजार सञ्चालक समिति, पाँचखाल काभ्रेको कोषको बदनियतपूर्ण रुपले हिनामिना तथा हानीनोक्सानी भएको व्यहोरा समेतलाई अनदेखागरी प्रतिवादीहरुलाई आरोपित कसुरबाट सफार्इ पाउने ठहरी भएको फैसलामा निजहरुको कसुरको गम्भीरतालाई समेत मध्यनजर नगरी फैसला भएको देखिएकोले बदरभागी रहेको ।
घ) प्रतिवादी दर्तावाला लेखापरीक्षक सदस्यता नम्वर ३९०४, प्रमाणपत्र नं. ग ०३०२ का वाहक केशव भन्ने हरिकेशव अधिकारीले मौकाको बयानको सवाल जवाफमा आर्थिक बर्ष २०६९।०७० देखि २०७४।०७५ सम्मको एकै पटक निज अध्यक्ष दिल बहादुर श्रेष्ठले मौखिक बताए अनुसार तयार गरेको हो भनी लेखाई दिएको तथा निजको मौकाकै बयानको जवाफमा समेत “आफू जिम्मेवार व्यक्ति भएर त्यसरी सार्वजनिक स्वामित्वमा रहेको कृषि उपज बजार सञ्चालक समितिको अडिट रिपोर्ट तयार गर्ने कार्य गर्न नियमले मिल्दैन, अध्यक्षले आन्तरिक प्रयोजनको लागि भनेको हुँदा तयार पारेको हो” भनी आरोपित कसुरमा साविती रही बयान गरेका, निजले आफूले पालना गर्नुपर्ने पेशागत आचारसंहिता, उत्तरदायित्व तथा जवाफदेहिता समेतबाट कर्तव्यच्यूत भई गलत लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिशिल संलग्न तथ्य तथा प्रमाण समेतलाई न्यायोचित मूल्याङ्कन नगरी भएको फैसला प्रमाण विवेचनाको रोहमा त्रुटिपूर्ण भएकोले बदरभागी रहेको। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/26
प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/25
प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18
प्रतिवादी विनोद कुमार पौडेल रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/09/18