भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईसमेत ८ जना उपर आर्थिक अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२० गते ।
-------------------------------------------------
जिल्ला सुनसरी, मालपोत कार्यालय सुनसरीका कर्मचारीसमेतको मिलेमतोमा मृत्यु भइसकेको व्यक्ति धरान १० की रनमाया लिम्बुको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गलत लिखत तयार गरी उक्त भष्टाचारजन्य कसुरमा संलग्न देहायका ब्यक्तिहरुउपर देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
क. भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाई, नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्ण प्रसाद नेपाल र खरिदार (मोठफाँट) राम प्रसाद भट्टराईको हकमा : निजहरुले २०७०/०७/१० मा मृत्यु भएको रनमाया लिम्बुको गलत औँठाछाप लागी पेश हुन आएको लिखतलाई जग्गा लिने/दिने व्यक्तिहरुलाई समेत यकिन सनाखत नै नगरी मृतक व्यक्तिको नामको जग्गा मिति २०७६/०८/२८ मा हालैको वकसपत्रको गलत लिखत तयार तथा पारित गरी रु.३१,४५,०००।-(एकतीस लाख पैतालीस हजार) बराबरको जग्गा गैरकानुनी तरिकाले हक नपुग्ने रत्नदेवी लिम्बुलाई हक हस्तान्तरण गरी गैरकानूनी लाभ पुर्‍याएको पुष्टि भएकोले निजहरु दधिराम गुरागाई, मनोज घिमिरे, कृष्ण प्रसाद नेपाल र राम प्रसाद भट्टराईलाई  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी लिइएको छ ।
ख. साविक इटहरी नगरपालिका, हाल ईटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमालको हकमा : जग्गाधनी स्वयम उपस्थित नभई नै निजको नाममा घरबाटो सिफारिस निवेदन लिई मिति  २०७०।०८।२४ मा नगरपालिकाबाट घर बाटो सिफारिस गरेको र सोही सिफारिसको आधारमा मालपोत कार्यालय सुनसरीबाट मृतक रनमाया लिम्बुको नाममा रहेको जग्गा गैरकानूनी रुपमा रत्नदेवी लिम्बुको नाममा हालैको बकसपत्रमार्फत हक हस्तानान्तरण भएको देखिंदा निजले हालैको बकसपत्रको लागी घरबाटो सिफारिस गरी गलत लिखत तयार गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
ग. लेखापढी व्यवसायी पुस्कर प्रसाद पोखरेलको हकमा : जग्गाधनी व्यक्ति स्वयम उपस्थित नहुँदै निजको नामको लिखत लेखी झुठा सहिछाप सहित लिखत तयार गरी अंशियारको हक मास्ने र रत्नदेवी लिम्बुले लाभ पाउने गरी गलत लिखत तयार गरी मालपोत कार्यालय सुनसरीमा पेश गरेको पुष्टि भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
घ. आरोपित रत्नदेवी लिम्बुको हकमा : मृत्यु भइसकेको व्यक्ति रनमाया लिम्बुको नाममा रहेको जग्गा निजको मृत्यु भएपछि गलत कागजात बनाई,  झुठा औंठाछाप लगाई पेश गरी लिखत पारित गराई गैरकानूनी रुपमा रु.३१,४५,०००।- (एकतीस लाख पैँतालीस हजार) बराबरको जग्गा आफ्नो नाममा कायम गराई गैरकानूनी लाभ लिएको र उक्त जग्गा आफ्नो नाममा कायम गर्न/गराउन रु.२,३५,०००/-(दुई लाख पैँतीस हजार) रकम बुझाएकोमा रु.४७,१७५/-(सचालीस हजार एक सय पचहत्तर) मात्र राजश्व दाखिला रसिद देखिएको बाँकी रु. १,८७,८२५/-(एक लाख सतासी हजार आठ सय पच्चीस) गलत लिखत तयार गर्न घुस/रिसवतबापत दिएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) र ऐ. ऐनको  दफा ८ को उपदफा (४) को कसुरमा हुने जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ।
ङ. पारित गलत लिखतका साक्षी गोविन्द कोइरालाको हकमा : मालपोत कार्यालय सुनसरीको हालैको बकसपत्रको किर्ते औठाछाप र दस्तखतसमेत गरी पारित लिखतमा साक्षीको रुपमा बसी दस्तखत गर्ने महलमा रामधुनी नगरपालिका वडा नं. ५ बस्ने लेखापढी व्यवसायी गोविन्द कोइरालाले किर्ते दस्तखत गरी झुठा लिखत पारित गर्ने काममा साक्षी बसी मतियारको काम गरेकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरको मतियार हुने कसुर गरेको देखिंदा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ता पुनम देवी कुर्मी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12
बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाउपर बिगो रु.५,३३,५३,१८९।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10
श्री सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीसमेत २ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/10