पृष्ठभूमि

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ऐतिहाँसिक पृष्ठभूमी

भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एक चूनौतीको रुपमा रहेको छ । सीमाविहिन अपराधको रुपमा विस्तार हुँदै गएको भ्रष्टाचारको स्वरुप र आयाम पनि दिनानुदिन परिवर्तन हुँदै एको छ । सामाजिक, आर्थिक एवं मानवीय विकासको प्रमुख वाधकको रुपमा रहेको यस विकृतिको नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा संसारका प्रायः सबै मुलुकहरुले विभिन्न रणनीतिहरु अवलम्वन गर्दै आएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि विश्वमा बिभिन्न किसिमका संयन्त्रहरुको गठन भएको पाइन्छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रुपमा वि०सं० २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको हो ।

नेपालको संविधानको भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धि व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको कामा कर्तब्य र अधिकार बारेको ब्यवस्था छ ।

संविधानमा व्यवस्था भएबमोजिम अख्तियार दुरुपयोग अनुसन्धानले कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्वन्धमा कानुन बमोजिम अनुसन्धान गर्ने वा गराउन सक्ने व्यवस्था छ । यसरी भएको अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा आयोगले त्यस्तो व्यक्ति र सो अवराधमा संलग्न अन्य व्यक्तिउपर कानुन वमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ।

 

संवैधानिक निकायको रुपमा सुम्पिएको काम कर्तव्य र अधिकार आयोगले मूलभूत रुपमा नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र नियमावली, २०५९ तथा भ्रष्टाचार निवारण ऐन २०५९ र अन्य सम्बद्ध कानुनको परिधिभित्र रही गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासनको अभिवृद्धि गराउने उद्देश्यका साथ आयोगले निरोधात्मक, दण्डात्मक र प्रवर्दनात्मक रणनीतिहरु अवलम्वन गर्दै आएको छ ।